काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्व मनाइँदै छ।
घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाउने गरिएको हो।
घोडेजात्राको अवसरमा हरेक वर्षझैँ टुँडिखेलमा आज नेपाली सेनाले अश्वकला प्रदर्शन गर्नेछ। ललितपुरको पाटनमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।
परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाउने गरिएको बताइन्छ।
अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुने विश्वासका आधारमा यसको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने परम्परा चलेको हो।