प्रधानमन्त्री प्रचण्डद्धारा विदेशमा श्रम गर्ने श्रमिककालागि सामाजिक सुरक्षा योजना शुभारम्भ

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।

बुधवार सामाजिक सुरक्षा कोषद्धारा काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभारम्भ गरेका हुन्।

सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार हुने छ ।

श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिने बताइएको छ।

कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ।

खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आवद्ध भइसकेका छन्। कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ। कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो।

यो योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने सरकारको विश्वास छ।

कमेन्ट गर्नुहोस्