काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासले गति लिएसँगै विभेद र अपमान कम हुँदै जाने बताएका छन्। सङ्घीय संसद्को राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडन विरुद्धको सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘जति वैज्ञानिक तरिकाले विकास प्रक्रिया अगाडि बढ्छ त्यत्ति नै अन्धविश्वास र रुढीका मान्यता सकिँदै जान्छन्। हामी राज्यको तर्फबाट संविधान, कानुन परिमार्जनको सचेत प्रयत्नबाट यो समस्या समाधान गर्न सक्छौँ। अर्को विकास र समृद्धिबाट देशलाई माथि उठाएर लगेमा यो समस्याको समाधान हुनसक्छ। छुवाछूतको समस्या समाधानका लागि राज्यको तर्फबाट अधिकतम प्रयास भइरहेको विश्वास दिलाउन चाहन्छु।’’
कानुनलाई व्यावहारिक रुप दिन केही परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। छुवाछूतको समस्या कानुनी बाटोबाट मात्र समाधान गर्न खोज्नु गाह्रो रहेको उनले बताए । यो सांस्कृतिक आन्दोलनको विषय भएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले भने , ‘‘संविधान, कानुन र सचेत प्रयत्नबाट यो समस्याको समाधान गर्ने निरन्तर प्रयास भइरहेको छ। यसको समाधान कानुनी बाटोबाट मात्र गर्न खोज्नु गाह्रो छ। कानुनलाई व्यावहारिक परिमार्जन गर्नुपर्ने आवश्यकता छ। यो विषय सांस्कृतिक आन्दोलनको विषय हो। यो समस्याको समाधान राजनीतिक इच्छाशक्ति र बहसबाट गर्न सकिन्छ।’’