सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न ५ एआईजीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । सरकारको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दाहालले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित सिंहदरबार पुगेका ५ एआईजीमध्येबाटै चार दिनपछि आईजीपी नियुक्ति हुँदैछ । आईजीपी बढुवाको चार दिनअघि बुधबार उनीहरुले एआईजीको दज्र्याही चिह्न लगाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बढुवा भएका सबै अधिकृतहरु राम्रो भएको बताउँदै संगठन र सरकारको छवि उच्च बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

भेटमा उनले यसपालि एआईजी बढुवा निर्विवाद भएको बताउँदै खुशी समेत व्यक्त गरेको ती अधिकृतले बताए ।

अहिले गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् । मन्त्रालयले १३ मंसिरमा डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसअघि तत्कालीन डीआईजी अशोक सिंह बढुवाका लागि आकांक्षी थिए । तर, जन्ममिति विवाद सतहमा आएपछि उनले राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्