प्रशिक्षक उत्पादन गर्न माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा मंगलवारदेखि ‘केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ । कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षणका लागि प्रशिक्षक उत्पादन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २–२ जना, जनवर्गिय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रिय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ । चैत ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।

स्कुल विभागले तय गरे अनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरुलाई दिइने उनले बताए। पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताए । उनले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताए ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताए ।
उनले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभुत सिद्धान्तहरु जनता र कार्यकर्ताहरुमा एकरुपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गरे ।

केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताए । त्यस्तै, विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उनको भनाई छ ।

नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरुलाई नेतृत्व तहसम्म पु¥याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरु आवश्यक पर्ने बताए ।

कमेन्ट गर्नुहोस्