काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा योजना सुभारम्भ गरेका छन् । यो वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजना बैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने महत्वपूर्ण कार्यक्रम हो । यसबाट बैदेशिक रोजगारीमा रहेकाहरुले ठूलो लाभ लिने अपेक्षा गरिएको छ ।
यसरी लिन सकिन्छ सेवा
१. श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नविकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिन्छ।
२.त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइन्छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
३.वैदेशिक रोजगारीका लागि पहिलो पटक श्रम स्वीकृति लिने व्यक्ति, श्रम स्वीकृति लिएर विदेशमा श्रम गरिरहेका व्यक्ति र विदेशमा श्रम गरिरहेका तर श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएका व्यक्ति यस योजनामा आबद्ध हुने प्रक्रिया कोषले निर्धारण गरेको छ ।
४. वैदेशिक रोजगारीमा रहेकाहरुले वैदेशिक रोजगार विभागको सफ्टवेयर मार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्ट मार्फत कोषमा सूचीकरणका लागि निवेदन सक्छन् । अब त श्रम स्वीकृति लिनेहरुले अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेछ ।
५.अहिले विदेशमा भएका र श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएको अवस्थामा भने सामाजिक सुरक्षा कोषको वेबसाइटमा गई फारम भरेर आबद्ध हुन सक्नेछन् ।
६. यदि विदेशजानुअघि नै श्रम स्वीकृति नम्बर लिने बेलामा फारम भरे सामाजिक सुरक्षा नम्बर पनि पाइनेछ । त्यसरी सूचीकृत हुने बेलामा श्रमिकहरुको इमेलमा सामाजिक सुरक्षा कोषको आइडी कार्ड र पासवर्ड रिसेट गर्नका लागि लिंक पनि उपलब्ध हुन्छ ।
७. यसको अतिरिक्त विदेशमा भएका तर नवीकरण गर्ने बेला भएको छैन भने त्यस्ता श्रमिकले सामाजिक सुरक्षा कोषको वेबसाइटमा वैदेशिक रोजगार सूचीकरण भन्ने मेनुभित्र नयाँ दर्ता बटममा गएर आवश्यक विवरण भरेपछि त्यहाँबाट पनि सूचीकरण गर्न सकिन्छ ।
८. विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरुको माध्यमबाट पनि योगदानमा आधारित रकम सिधै कोषको खातामा जम्मा गर्न सकिने व्यवस्था छ । उक्त रकम जम्मा गर्ने बेलामा श्रमिकहरुले हरेक महिना सब्मिसन नम्बर र भौचर नम्बर पाउँछन् । त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरुमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । त्यसैको आधारमा अनलाइनमार्फत योगदानमा आधारित रकम जम्मा गर्न सकिन्छ ।