काठमाडौं। राष्ट्रिय सभाको आजको दोस्रो बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले राखेको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सैद्धान्तिक छलफलपछि सभाले स्वीकृत गरेको हो ।
छलफलमा सांसदहरुले विधेयक ल्याउने कर्तव्य कार्यपालिकाको भएको भन्दै विधिको शासनका लागि यस प्रकारको कानुन आवश्यक रहेको बताए।
विधेयकमा सरकारी एवम् सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनलाई योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधनलगायतका विषय विधेयकमा समेटिएको छ ।
यस्तै, विधेयकमा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने लगायतका विषय समावेश गरिएको छ ।
राष्ट्रियसभाको आजै बसेको पहिलो बैठकमा राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले गैरसरकारी विधेयकका रुपमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेश गरे ।
यसअघि, विशेष समयमा सांसदहरुले मिटरव्यजीबाट नागरिक पीडित बनिरहेको, सरकारी अस्पतालहरूमा भएका प्रविधिको प्रयोग हुन नसकेको, सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने, वैदेशिक रोजगारीमा जानेमाथि भइरहेको ठगीलगायतका विषय उठाएका थिए ।
यस्तै, जातीय भेदभाव, राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, मदरसालाई राज्यको मूल प्रवाहमा ल्याइनुपर्ने, नागरिकता समस्या, मलखाद, युवा विदेश पलायन लगायतका विषयप्रति सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभाको आजको पहिलो बैठक सुरु भएलगत्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको निर्धारित समयमा नेपाल सरकारका मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिए ।
राष्ट्रियसभाको अर्को बैठक चैत १६ गते बिहीबार ११ बजेर १ मिनेटमा बस्नेछ ।