तीस वर्ष पछि चिडियाखानामा प्रधानमन्त्री प्रचण्ड, अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण भ्रमण गरेका छन् । प्रचण्ड आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यहरूसहित यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सामान्य नागरिक सरह  चिडियाखानाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले जानकारी दिए । यस क्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए ।

चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति प्रधानमन्त्री दाहालले खुसी प्रकट गरेको डा. सुवेदीले जानकारी दिए ।

अवलोकनका क्रममा उनले बाघ र गैंडा धेरै मनपर्ने उल्लेख गर्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए । चिडियाखानामा राखिएका हरेक वन्यजन्तुको बारेमा पनि उनले सोधेका थिए । चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा रहेको डा. सुवेदीले जानकारी दिए ।

उनीहरुले चिडियाखाना सानो भएको र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्री दाहाल प्रचण्डले यसबारे आफूले बुझ्ने र थप जानकारीका लागि कार्यालयमा बोलाउने बताए ।

सदर चिडियाखानामा एक सय दुई प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तुहरू छन् । प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी, निर्देशक डा. चिरन्जिवी पोखरेल, चिडियाखाना प्रमुख रचना शाहलगायत कोषका कर्मचारीहरूले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्