काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेल्न सफल भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।
निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गर्न सफल भएपछि खेल नेपालको पक्षमा भयो ।
दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो । उनले लाओसविरुद्धको खेलबाट डेब्यु गरेका थिए ।
त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
त्यसबाहेक दुबै टोलीले पाएको थुप्रै अवसर गुमाएका थिए ।
खेलको ११ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालका दुई डिफेन्डरलाई बिट गरेको बल नेपालका अनन्त तामाङले क्लियर गर्दै खतरा टारे ।
२८ औं मिनेटमा नेपालका पुजन उपरकोटीको लामो प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ३५ औं मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङको लामो प्रहार पनि पोस्ट भन्दा माथिबाट गएको थियो ।
खेलको ४५ औं मिनेटमा नेपालका शनिस श्रेष्ठको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो ।
४७ औं मिनेटमा नेपालका अन्जन विष्टको हेडर प्रहार भुटानी गोलकिपर छिरिङ देण्डुपले बचाए ।
खेलको ६४ औं मिनेटमा भुटानका जिग्मीको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए ।
७० औं मिनेटमा नेपालका दीपक सिंह ठकुरीले गोलको अवसर गुमाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।
खेलको ७८ औं मिनेटमा नेपालका मनिष डाँगीले दायाँबाट प्रहार गरेको बल पोस्ट नजिककै बाहिरिएको थियो ।
नेपालमाथि भुटानको यो ऐतिहासिक प्रदर्शन हो । भुटानले पहिलो पटक नेपालसँग बराबरी खेलेको हो ।
नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी भुटानसँग पहिलो पटक बराबरी खेलेको हो ।
यस अघिको १२ भेटमा नेपालले १२ खेलमै जित निकालेको थियो ।
यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । भुटान भने बाहिरिएको छ ।
अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ ।
नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
लाओसले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
भुटान १ अंक जोडेर घर फर्किएको छ ।