काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।
मन्त्रालयको भागबण्डा र न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न नेताहरु एकै ठाउँ जुटेका छन् ।
गत चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा छन् ।
हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो । साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ ।
सोही अनुरूप आजको बैठकले एस, जसपा र लोसपालाई सहमति गराउँदै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे टुङ्गो लगाउने अपेक्षा गरिएको छ ।
बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी छन् ।
साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता छन् ।