प्रधानमन्त्री प्रचण्डद्धारा भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गरेका छन् । सत्ता गठबन्धनको बैठकैबीचमा भरतपुर पुगेका प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका हुन् ।

त्यसपछि उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन् । चितवनका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने छन् ।

सरकारमा सहभागीताबारे छलफल निष्र्कषमा पुगेको दिउँसो १ बजे नै काठमाडौं फर्केर सम्भव भएसम्म आज नै नभए भोलिसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीले जानकारी दिए ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गरिँदै छ । निर्माणको ठेक्का केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले पाएको छ । निर्माण सम्झौता २०७९ चैत ६ गते भएको थियो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगञ्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको थियो । ती विमानस्थलहरुमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । यात्रुको चाप बढ्दा विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन् ।

 

भरतपुरमा ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा अत्याधुनिक टर्मिनल भवन बनाउने योजना छ । विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी भरतपुर विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।

धावनमार्ग विस्तार भएमा ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुने अधिकारीहरु बताउँछन् । हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका र धावनमार्ग पनि विस्तार नहुँदा साना जहाजहरुले मात्रै सेवा दिंदै आएका छन् । भरतपुरबाट काठमाडौं, पोखरा र भैरहवा उडान हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्