कृषि र वन विज्ञान शिक्षालाई सम्बन्धित जनसमुदायसम्म पुर्‍याउन सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिने शिक्षालाई सम्बन्धित जन समुदायमा पुर्‍याउन सक्नुपर्ने बताएका छन् । आज(बिहिबार) चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय तेश्रो दिक्षान्त समारोह लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि तथा वन विज्ञान शिक्षालाई विद्यार्थीबाट सम्बन्धित जनसमुदायमा पुर्‍याउनसके मात्रै फलदायी हुने बताएका हुन् ।

प्रधानमन्त्रीले प्रचण्डले भने –‘यस विश्‍वविद्यालयले कृषि र बन विज्ञान शिक्षामा शैद्धान्तिक भन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन(पाठनमा ध्यान दिँदै त्यसलाई विद्यार्थीबाट कृषि र बनसँग सम्बन्धित जन समुदायमा पुर्‍याउन सकेमा फलदायी हुनेछ ।’

कृषि, बन, पशुपालन, कृषक र समुदायलाई पर्यावरण प्रणालीमा समाहित गर्न सकेमात्रै मुलुकले सो क्षेत्रबाट अपेक्षित उपलब्धि हासिल गर्न सक्ने प्रधानमन्त्रीको भनाई थियो ।

देशको लागि कृषि, बन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो रहेको भएपनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयहरुमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै गएको प्रति प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । सो समस्या कुनै विश्व विद्यालयको मात्रै नभएर शिक्षा प्रणालीकै समस्या भएको प्रधानमन्त्रीको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले भने –‘देशको लागि कृषि, बन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयहरुमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै जानु गम्भिर चिन्ताको विषय बनेको छ । यो समस्या एक विश्वविद्यालयको मात्र नभई अन्य विश्‍वविद्यालयहरुमा समेत देखिएकोले यो विषयको मुल समस्या पहिचान गरी समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने हो कि भन्ने मेरो बुझाई रहेको छ । ’

विश्‍वव्यापिकरणको युगमा विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न चुनौतिपूर्ण रहेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्‍वविद्यालय प्रयासरत रहनु पर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘विद्यार्थीलाई स्वदेशमा नै उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न आजको विश्‍वव्यापिकरणको युगमा निकै चुनौतिपूर्ण रहेको छ । उच्‍च शिक्षाको क्षेत्रमा देखिएका विभिन्‍न समस्याहरु यथासमायमानै समाधान गर्न सकियो भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विदेशिनु पर्ने बाध्यतालाई पक्कै कम गर्न सकिन्छ । यसका लागि विद्यार्थीहरुले अध्ययन गर्न चाहेको विषयहरुमा गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्‍वविद्यालय प्रयासरत रहनु पर्ने हुन्छ ।’

संयुक्त राष्‍ट्र संघले मार्गदर्शन गरेको दिगो विकासको लक्ष्यलाई २०३० सम्म हाँसिल गर्नका लागि विश्‍वविद्यालयका लक्ष्य, कार्यक्रम र कार्ययोजनालाई तीनै लक्ष्यसँग आवद्ध गर्नु पर्ने प्रधानमन्त्रीको भनाई थियो ।

अन्तर्राष्‍ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिष्पर्धि विद्यार्थी उत्पादन गरेर मात्रै दिगो विकासका लक्ष्य पुरा गर्न सकिनेमा प्रधानमन्त्रीको जोड थियो ।

कमेन्ट गर्नुहोस्