को हुन् नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुनगठित सकारको नयाँ उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनेका छन् । भौतिक पूर्वाधार एंव यातयात मन्त्री रहेका श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

यस्तो उनको संक्षिप्त जीवनी

नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ १८ वर्षको भूमिगत जीवनपछि ०६५ मा सार्वजनिक भएका थिए । २०१७ सालमा एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले उनको प्रमाणपत्रको जन्म २०१६ साल रहेको छ ।

गोरखाको जौबारीमा, पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमाया श्रेष्ठबाट जन्मिएका नारायणकाजी श्रेष्ठको चार पुस्ता अगाडिको पुर्खा उपत्यकाको पाटनबाट जौबारी पुगेको थियो। श्रेष्ठका बुवा–आमाको निधन भैसकेको छ भने पाँच दाजुभाइमध्ये उनी ठुलोकान्छो भाइ हुन् ।

श्रेष्ठले एकदेखि १० कक्षासम्म गाँउकै विद्यालयमा पढेका थिए । उनले जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । अर्थशास्त्रमा स्नातक गरेका छन् । मेडिकल साइन्सको प्राम्भिक अध्ययन गरेका श्रेष्ठसँग छोटो समय हेल्थपोस्टमा र सिद्दार्थ वनस्थली विद्यालयमा शिक्षण गरेको अनुभव समेत छ।

एक समय उनी पत्रकारितामा समेत थिए। राजनीतिक जीवन क्रममा मुल्यांकन, गर्जन जस्ता पत्रिकाको संपादनको जिम्मेवारी उजले वहन गरेका छन् ।
तर औपचारिकभन्दा अनौपचारिक अध्ययनलाई बढी जोड दिने श्रेष्ठले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे गहिरो अध्ययन गरेका छन्।

उनलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिन लिखित ‘राज्य र क्रान्ति’ हो।

१५ वर्षमा एसएलसी गरेका श्रेष्ठ कलिलो उमेरमा नै जेल परेका थिए। ०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । त्यहाँबाट छुटेपनि दोस्रो पटक ०३६ सालमै उही आरोपमा गोर्खा जेलमा राखियो। तेस्रो पटक ०४५ सालमा जनआन्दोलनको तयारीको बेला उहाँलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो।

भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उनले राजनीतिक गतिविधि गरेका थिए । उनले
१.क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति भाग—१
२. माघ १९ र क्रान्तिकारी कार्यनीति
३.माओवादी र माओवादी जनयुद्घबारे ।
४. क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग–२ लगायतका पुस्तकहरू लेखेका छन् ।

सानै छँदा नै विद्रोही श्रेष्ठ प्रारम्भिक राजनीतिक जीवनमा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहेका थिए । तर नेपाली काँग्रेसले सामन्तवादसँग सम्झौतापरस्त नीति लिएको महसुस भएपछि कम्युनिष्ट आन्दोलनमा हेलिए ।

उनी नेकपा चौथो महाधिवेशन (चौम)मा संगठीत भए। उनलाई गोर्खाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीले ०३८ सालमा पार्टी सदस्यता दिएका हुन्। उनी पार्टीको सेल कमिटीमा हुँदैगर्दा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टीमा विभाजन भइ मोहनविक्रम समूह अलग भए। उनी चौमको काठमाडौं जिल्ला समिति सदस्य हुँदै ०४२–४३ सालतिर केन्द्रीय सदस्य भए ।

२०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य भए । एकता भएपछि ०४७ सालमा एकता महाधिबेशनबाट उनी नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्य भए । ०५१ सालमा पार्टी विभाजित हुँदा उनले एकताकेन्द्रको सचिवको जिम्मेवारी लिए। लगत्तै महासचिव भए।

नेकपा (मसाल)सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र–मसाल)को महामन्त्री र उनी सहमहामन्त्री रहेका थिए। ०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उनी एकताकेन्द्र–मसालको महामन्त्री हैसियतमै रहे ।

तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध र राजाको सक्रिय निरंकुशताविरुद्ध आन्दोलनरत पार्टीहरूलाई संयुक्त जनआन्दोलनका लागि एकैठाउँमा ल्याएर संविधानसभामार्फत देशको संघीय गणतान्त्रिक परिवर्तन गर्नमा श्रेष्ठको संयोजनकारी भूमिका छ। भारतको सिलगुडीमा वाम पार्टीहरूको संयुक्त बैठक गराउन र ०६२–६३ को ऐतिहासिक जनआन्दोलनका लागि तत्कालीन सात राजनीतिक दलहरू र तत्कालीन नेकपा (माओवादी)बीच वार्ता एवं १२ बुँदे सहमति गराउन उनले कुशल र संयोजनकारी भूमिका खेलेका थिए । राजा ज्ञानेन्द्रको सत्ताले उनलाई समेत माओवादीका वरिष्ठ नेताहरूलाई झैं भेट्यो कि मारिहाल्ने सूचीमा राखेको थियो।

ऐतिहासिक जनआन्दोलनको सफलतासँगै नेकपा एकता केन्द्र–मसाल र नेकपा माओवादीको एकता सम्पन्न भइ एकीकृत नेकपा माओवादी बनेपछि उनी त्यस पार्टीको उपाध्यक्ष बने। पहिलो संविधानसभा सदस्य उनी २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए।तर उक्त कार्यकाल जम्मा २८ दिनको थियो।त्यसपछि २०६८ भदौ १८ मा तत्कालीन एकीकृत माओवादीका अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बने ।

कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको क्रममै नेकपा माओवादी केन्द्र बनेपछि उनी पार्टीको दोश्रो वरियताको स्थानमा उपाध्यक्ष भए। २०७५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेकपा बन्दा श्रेष्ठ नौ जनामध्येको केन्द्रीय सचिवालय सदस्य रहेका थिए। तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई अलग गराइदिएपछि उहाँ पूर्ववत् माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नै भए ।

राष्ट्रियसभा सदस्य श्रेष्ठ २०७९ पुस ११ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पुर्बाधार तथा यातायातमन्त्री भए । श्रेष्ठलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट विभाग परिवर्तन गरी २०७९ चैत्र १७ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको छ।

कमेन्ट गर्नुहोस्