मिटरव्याजलाई अपराध घोषणा गरेकोमा किसान महासंघले दियो प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले किसानको पक्षका काम गरेको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।

नेपाली किसानका विभिन्न समस्याहरूबारे समसामयिक प्रस्तावहरू पारित गरी नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (माओवादी केन्द्र) को ध्यानाकर्षण गराएकोमा सरकार आफ्ना मागहरुप्रति गम्भिर हुँदै माग पुरा गर्न लागिपरिको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ –‘साथै, नेकपा (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी र नेपाल समाजवादी पार्टीसहित पूर्वमाओवादी घटकसँग आबद्ध ३ किसान संगठनहरूले विभिन्न मागहरूसहित संयुक्त वक्तव्य जारी गरेका थियौँ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माले) निकट ६ किसान संगठनहरूले पनि विभिन्न मागहरू राख्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेको कुरा सर्वविदितै छ ।हाम्रा मागहरूप्रति गम्भीर हुँदै नेपाल सरकारले किसानहरूले ७१ प्रतिशत र विक्रेताहरूले २९ प्रतिशत लाभ प्राप्त हुने गरी दुधको मूल्यबृद्धि गरेको छ । हाम्रै आग्रहमा नेपाल सरकारले रासायनिक मलको मूल्यबृद्धि फिर्ता लिने निर्णय गरेको छ । फागुन १ गते महान् जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने ऐतिहासिक निर्णय भएको छ।’

महान् जनयुद्धमा देशको परिवर्तनका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर योद्धाहरूलाई राजपत्रमा सूचना प्रकाशनसहित राष्ट्रिय सहिदको मान्यता प्रदान गरी सरकारले महान् सहिदहरू र उनीहरूका परिवारजनलाई उच्च सम्मान प्रदान गरेको महासंघले जनाएको छ ।

मीटरब्याजीहरूको कारोबारलाई गैरकानुनी घोषणा गर्दै मन्त्रीपरिषद्को आकस्मिक बैठक बसेर सरकारले कानुनी व्यवस्था गर्ने निर्णय गरेको र समस्या समाधानका लागि वार्तालाई अघि बढाएकोमा आम नेपाली किसानहरूको तर्फबाट महासंघले नेपाल सरकार र प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद ज्ञापन गरेको छ ।

कमेन्ट गर्नुहोस्