पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले कोष कमिशनको पछि लाग्ने गरेको बताएको उनको भनाई थियो ।

‘हाम्रो प्रवृत्ति कस्तो भयो भने–मन्त्री भइसकेपछि गाडीबाट तल नझर्ने, कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने, विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने,’ उनले भने ।

मन्त्री किराँतीले पशुपति क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको बताए । दर्शनार्थीहरुले आफूलाई ट्वाईलेट कता छ भनी सोधेको र आफू पनि टवाईलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको उनको गुनासो थियो ।

मन्त्री किराँतीले भने, ‘त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर, अब संस्कृति जनतामा कस्तो भने– कुकुर डोहो¥याउँदै जाने, मर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा फोहोर फ्याँकेर हिँड्ने । हामी सबै सुध्रिनुपर्ने देखिन्छ ।’

कमेन्ट गर्नुहोस्