काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितको समस्यालाई समाधान गर्न भइरहेको कामबारे ब्रिफ्रिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको समस्या जुनसुकै हालतमा अन्त्य गरी न्याय दिलाउने बताए ।
“मिटरब्याजी समस्यालाई, शोषणको अत्यन्त भद्दा रुपलाई जसरी पनि अन्त्य गर्ने र पीडितलाई हरहालतमा त्यसबाट मुक्त गर्ने, न्याय दिने हाम्रो प्रतिबद्धता छ,” उनले भने ।
बैठकमा उनले नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पहिलेको प्रतिवेदन थन्क्याएर धोका दिएको भन्दै आजको बैठकमा लगाएको आरोपको खण्डन पनि गरे । उनले पहिले आयोग नभएर कार्यदल बनेको बताए ।
“पहिले कार्यदल बनाइएको थियो । आयोग होइन । कार्यदलको सीमा थियो । जाँचबुझ आयोगअन्तर्गत आयोग नै बनाउने दुई पक्षबीच सहमति गरेका छौँ । अब बस्ने पहिलो मन्त्रिपरिषद्बाट निर्णय गर्ने गरी अघि बढ्दै छौँ,” मन्त्री श्रेष्ठले भने ।
उनले उक्त कार्यदलको प्रतिवेदनले आवश्यक ऐन संशोधन गर्नुपर्ने सिफारिस गरेको बताए ।