काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि हुन नदिन सरकार दृढ रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकि काम पूरा गर्न सरकार गम्भिर रहेको बताए। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या समाधान गर्ने सरकारको योजना रहेको उनले बताए ।
शान्ति प्रकृयाको राजनीतिक र प्राविधिक कार्यभार पूरा गरेको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार बाँकी रहेको प्रष्ट पारे ।
‘तेस्रो एउटा कार्यभार पूरा गर्न बाँकि छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर यो संक्रमणकालीन न्यायको कामलाई पनि पूरा गर्नुछ । तव मात्रै शान्ति प्रक्रिया समग्रमा सम्पन्न भएको स्थितिमा हामी पुग्न सक्छौं । यो कुरामा पनि सरकार गम्भिर छ,’ उनले भने ।