एमालेबाट निर्वाचित मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ

काठमाडौं । रौतहटका एकजना नगरपालिका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह रहेका छन्।

मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँसमेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।

जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले उनी पक्राउ परेको पुष्टि गरे।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए।

परीक्षा हलबाट समातिएका साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

गत स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार बनेका प्रेमलाल साह कानुले ४,२९२ मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका थिए भने जनता समाजवादी पार्टीका नेता मधुलिका रानी पटेलले ३,३९७ मत ल्याएर उपविजेता भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्