विराटनगर । मोरङको विराटनगरनजिकैको भारतीय बजार जोगबनीमा गोली हानाहान भएको छ । सीमावर्ती नेपाल–भारतको दरैया नाकानजिकै जोगबनी–४, टिकुलिया बस्तीमा गोली हानाहान भएको हो । घटनामा एक भारतीय नागरिक घाइते भएका छन् ।
सोमबार बिहान भारतीय लागुऔषध कारोबारीबीच गोली हानाहान भएको बताइएको छ । घटनामा टिकुलिया बस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । मुखमा गोली लागेको उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
गोली प्रहार गर्ने र घाइते दुवै लागुऔषध कारोबार गर्ने गिरोेहका सदस्य रहेको खुल्न आएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।
जोगबनी घरायसी सरसामान किन्न धेरै नेपाली पुग्ने बजार हो । विगतमा यस किसिमका घटना भइरहने जोगबनी पछिल्लो समय शान्त थियो ।