काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास रहेको बताएका छन्। आज (सोमबार) नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले भने ‘‘तपाईँहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’’
त्यस्तै, गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रूपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रूपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गरे ।
यसैगरी, तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उहाँले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारबाही गर्न समेत निर्देशन दिए ।
गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति–सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन–कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरूलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन पनि निर्देशन दिए ।
उनले सीमित स्रोत साधन, न्यून जनशक्ति र अपर्याप्त भौतिक पूर्वाधारका बाबजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, महामारी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खोज उद्धार तथा राहत लगायतका प्रतिकार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सदैव तयारी अवस्थामा रहन आवश्यक रहेको बताए ।
साथै उनले कार्यक्रममा मिटरब्याजबाट पीडितहरूको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकताका राखी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिएका थिए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए। सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।
निरीक्षण पश्चात् आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्समार्फत सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गरे ।
सो क्रममा उनले ‘सत्य सेवा सुरक्षणम्’ को मूल मन्त्रलाई आत्मसात् गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गरे ।
कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी सङ्गठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताउँदै उनले पेसागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संविधान र कानुनले सङ्गठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भीकता पूर्वक सिर्जनात्मक ढङ्गले दायित्व निर्वाह गर्न समेत आग्रह गरे। पदस्थापन बढुवा, सरुवालाई अधिकतम प्रणालीगत र संस्थागत ढङ्गले अगाडि बढाउन गृहमन्त्रालयले आवश्यक पहल गर्ने उनले उल्लेख गरे ।
कार्यक्रमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले उपप्रधानमन्त्रीबाट नेपाल प्रहरीको साङ्गठनिक अभिवृद्धि तथा प्रहरी कर्मचारीहरूको वृत्ति विकासलगायतका विषयहरूमा प्राप्त निर्देशनका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
तालुक मन्त्रालयबाट नेपाल प्रहरीको वृत्ति विकास, संरचनागत सुधार र हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्रीको नेतृत्व एवम् अभिभावकत्वमा प्रहरी कर्मचारीको वृत्ति विकास र क्षमता अभिवृद्धिमा ठोस कदम चालिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अनियमितता एवम् गैरव्यावसायिक आचरणविरुद्ध शून्य सहनशीलताको नीति आलम्बन गर्नुहुँदै आन्तरिक शुद्धीकरण अभियानलाई कठोरतापूर्वक लागू गर्न सङ्गठन पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुहुँदै तालुक मन्त्रालयको सदिच्छा र सहयोगबाट आन्तरिक शुद्धीकरणको यो अभियानले सार्थकता पाउने बताउनुभयो ।
लागूऔषधको सेवन, बिक्री–वितरण तथा ओसारपसार र सञ्चय गर्ने जस्ता अवैध गतिविधिलाई निस्तेज गर्न नेपाल प्रहरीले प्रवर्द्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक नीति अवलम्बन गर्दै आएको र लागूऔषध नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राखी निर्ममतापूर्वक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठ समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र केसीले नेपाल प्रहरीको परिचय, सङ्गठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र क्षमता अभिवृद्धि, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौती, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।