बाँकेमा सोलारबाट १० मेगावाट विद्युत उत्पादन गरेर परीक्षण सुरु

नेपालगञ्ज। गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँके जिल्लामा निर्माण गरेको सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा निर्माण गरिएको सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको १० मेगावाट विद्युत् परीक्षणका लागि बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाल १० मेगावाट उत्पादन भएको र थप १० मेगावाट उत्पादनको तयारी पनि अन्तिम चरणमा पुगेको तथा केही महिनामै सो विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम् गुप्ताले बताए ।

सो विद्युत परीक्षणका लागि ३३ केभी विद्युत् कोहलपुर सब–स्टेसनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ ।

अहिलेको १० मेगावाट र केही महिनापछि प्राप्त हुने थप १० मेगावाट गरेर २० मेगावाटबाट गर्मीको समयमा हुने विद्युत समस्या केही समाधान हुने विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रको भनाई छ ।

उक्त सोलार विद्युत परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । समयमै १० मेगावाटको परियोजना सम्पन्न भएको जनाउँदै रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख गुप्ताले उक्त परियोजनामा एक अर्ब रुपियाँको लगानी भएको बताए ।

उनले एक अर्ब रुपियाँकै लगानीमा थप १० मेगावाटको अर्को परियोजना पनि सम्पन्न हुने अन्तिम चरणमा पुगेको जनाउँदै दुई महिनाभित्रै थप १० मेगावाट विद्युत उत्पादन हुने बताए ।

२५ वर्षसम्म सो विद्युत सरकारलाई विक्री गर्ने गरी नेपाल सरकारसँग सम्झौता भएको रेनरगो डेभलपर्स प्रालिले जनाएको छ । सो कम्पनीका अनुसार यसअघि पोखरा र नवलपरासीको बर्दघाटमा पनि सोलारबाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।

कमेन्ट गर्नुहोस्