काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ।
दुवै पार्टीका नेताहरुले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् । एकताको औपचारिक घोषणा भने आगामी मजदुर दिवसको दिन जनसभासहित गरिने भएको छ ।
पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो। समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका थिए।
बास्तोला नेतृत्वको नेकपा बहुमत केही समयअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएको हो। कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन्। विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी बनाएपछि अहिले वैद्यसँग एकता गरेका हुन्।