काठमाडौं । प्रतिनिधिसभाका सभामुख सभामुख देवराज घिमिरेको निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने विषयमा सहमति जुटाउन अहिले नेताहरूले छलफल गरेका हुन् ।
छलफमा सभामुख देवराज घिमिरे, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी छन् ।
त्यसैगरी, बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने तथा महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी छन्।
यसअघि शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच भएको छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए।
यसपछि प्रधानमन्त्री प्रचण्डले आज बैठक बसेर यस विषयमा कुरा टुंग्याउने बताएका थिए।