काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्ष उपयुक्त समय भएका बताएका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिदँै प्रधानमन्त्री प्रचण्डले राष्ट्रले आफुलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने बताए ।
प्रधामन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ ।
अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम हुँदै गएको उल्लेख गर्दै व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको बताए ।
राजश्व संकलनमा वृद्धि भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ ।
सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं ।