काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको काम पार्टी कार्यालयबाटै गर्ने कार्यको सुरुवात गरेका छन् । त्यसका लागि उनले शुक्रबारको समय छुट्टयाएका छन् ।
प्रधानमन्त्री निर्वाचित बनेसँगै यस कार्यकालमा विशेष सुरुवात गर्ने बताउँदै आएका प्रधानमन्त्री प्रचण्डले सुसासनका ध्यान दिएका छन् ।उनले बालुवाटारबाटै मन्त्रालय,क्याभिनेट र पार्टी चलाउने विगतका प्रधानमन्त्रीहरुको परम्परालाई पूर्णविराम लगाउने कोशिस गरेका छन् ।
उनी हरेक दिन जस्तै सिंहदरबार जाने र त्यहीबाट सत्ता संचालनको अभ्यास सुरु गरेका छन् । साथै,उनले प्रधानमन्त्री अध्यक्ष हुने सरकारका विभिन्न निकाय, संस्था र समितिको बैठक सम्भव भएसम्म सम्बन्धित कार्यालयमै राख्ने गरेका छन् ।
नेपाल सरकारको प्रधानमन्त्रीका साथै नेकपा माओवादी केन्द्रको अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीको काम अब पार्टी कार्यालयमै उपस्थित भएर गर्ने भएका हुन् । विगतका प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाले प्रधानमन्त्रीको नीजि निवास बालुवाटारलाई नै पार्टी कार्यालय बनाएको भन्दै आलोचना हुने गरेको थियो ।प्रधानमन्त्री प्रचण्डले परम्परा जस्तै बनेको सो प्रवृति लाई अन्त्य गर्ने बताएका छन् ।
यसबीचमा प्रधानमन्त्री प्रचण्डले सरकारका कामलाई गति दिने गरी काम गर्ने प्रयास मात्रै गरेका छैनन् । उनले पार्टी कार्यालय, प्रधानमन्त्री कार्यालय र निवासमा हुने कार्य समेत छुट्टयाएर आफुलाई फरक प्रधानमन्त्रीको रुपमा स्थापित गर्न खोजेका छन् ।
सोहि अनुरुप प्रधानमन्त्री प्रचण्डले हरेक हप्ताको पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर पार्टीका काम गर्ने तथा पार्टीका नेता तथा कार्यकर्तालाई भेट्ने कार्यक्रम बनाएका हुन् ।
आज वैशाख १ गते शुक्रबारबाट प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर पार्टीको काम पार्टी कार्यालयबाटै गर्ने कार्यको शुरुवात गरेका छन् ।