तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा जुडशितल पर्व मनाइँदै

जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ ।

वर्ष भरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् ।

आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ ।

कमेन्ट गर्नुहोस्