काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज र भोलि ऊर्जा सम्मेलन आयोजना गरेको छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि ऊर्जा सम्मेलन गरेको आयोजकले बताएको छ ।
समिटको संरक्षक ऊर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति हुनेछ । इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा सावित हुने अपेक्षा गरेको छ ।
ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी भएको आयोजकले जनाएको छ ।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ ।
सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिनेछ ।
सम्मेलनमा १५ वटा स्टल राखिनेछ । स्टलको लागि स्वदेशी कम्पनीको लागि आठ हजार विदेशी कम्पनीहरूको लागि १० हजार तोकिएको बताए ।