आज सूर्यग्रहण लाग्दै, नेपालबाट देखिँदैन आजको सूर्यग्रहण

काठमाडौं । आज सूर्यग्रहण लाग्दैछ। तर यो ग्रहण नेपालमा भने देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो सूर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष नलाग्ने जनाएको छ ।

जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन। ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ ।

आज बिहान सूर्योदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ। आज लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन। शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ आज लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने बताइएको छ। नेपालमा यो वर्ष कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने देखिनेछ।

कमेन्ट गर्नुहोस्