काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदउपाध्यक्ष डा.विकास अधिकारीले इन्जिनियरिङ लाइसेन्स परीक्षाको वार्षिक क्यालेन्डर छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।
साथै, अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको पनि बताए ।
उनले भने, ‘एउटा परीक्षामा फेल भएकालाई फेरि अर्को परीक्षामा सहभागी हुन लामो समय कुर्न नपरोस् भनेर २०८० सालमा तीनपटक परीक्षा लिने तयारी गरिरहेका छौं । हामी छिट्टै वार्षिक क्यालेन्डर नै सार्वजनिक गर्छौं ।’ आवश्यक परे लाइसेन्स परीक्षा वर्षमा चार पटक पनि लिन सकिने उनको भनाइ छ ।
डा. अधिकारीका अनुसार वार्षिक क्यालेन्डरमा कुन विधाको इन्जिनियरको लाइसेन्स परीक्षा फर्म कहिले खुल्ने र कहिले परीक्षा हुने भनेर स्पष्ट उल्लेख हुने छ । क्यालेण्डरमा उल्लेखित मितिमै परीक्षा सन्चालन गर्ने गरी क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।
परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको उनले बताए ।