सुरक्षित रूपमा गन्तब्य पुग्यो फ्लाई दुबईको विमान

काठमाडौँ । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान सुरक्षित रुपमा गन्तब्यमा पुगेको छ । विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ः ११ बजे अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि चालकदलले विशेष प्रविधि प्रयोग गरी आगो निभाएर पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

काठमाडौंमै आकस्मिक अवतरणको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।

फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको उल्लेख छ।

कमेन्ट गर्नुहोस्