काठमाडौं । युवा खेलाडी मार्क च्यापम्यानको शतकमा न्युजिल्यान्डले पाँचौं तथा अन्तिम टि –२० अन्तराष्ट्रियमा घरेलु टोली पाकिस्तानमाथि ६ विकेटको सानदार जित हात पारेको छ ।
पाकिस्तानको रावलपिन्डीमा सम्पन्न खेलमा पाहुना टोली ६ विकेटको फराकिलो अन्तरले विजयी भएको हो । जितसँगै पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज न्युजिल्यान्डले २–२ को बराबरीमा समाप्त गरेको छ।
घरेलु टोलीले दिएको १ सय ९४ रनको लक्ष्य पाहुना टोलीले १९ दशमलब २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाहुना टोलीको जितमा मार्क च्यापम्यानले ५७ बलमा ११ चौका र ४ छक्कासहित १ सय ४ रनको सानदार शतकीय इनिङ खेले । मार्कले ५४ बलमा शतक पूरा गरेका थिए ।
च्यापम्यानको टी–ट्वान्टी अन्तराष्ट्रियमा यो पहिलो शतक हो । जेम्श निसम २५ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे । पहिलो ओभरमा नै दुई विकेट गुमाएर सुरुआत गरेको भ्रमणकारी टोलीले ७४ रन हुन्दा ३ विकेट गुमाई सकेको थियो ।
तर, पाँचौं विकेटका लागि जेम्श निसम र मार्क च्यापम्यानले अविजित १ सय २१ रनको साझेदारीका साथ जित पक्का गराएका थिए । कप्तान तथा ओपनर टम लाथम ईनिङको पहिलो बलमा आउट हुँदा अर्का ओपनर चाद बोवेस १९ रनमा आउट भएका थिए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र इमाद वासिमले २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ६२ बलमा ७ चौका र ४ छक्काको सहयोगमा अविजित ९८ रनको अर्धशतकीय ईनिङ खेले ।
ईफ्तिखार अहमदले २२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । ईमाद वासिमले १४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । कप्तान बाबर अजामले १८ बलमा १९ रन बनाउँदा फहिम असरफ १ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि विलियर टिक्निरले ३ तथा ईश सोधीले १ विकेट लिए।