गण्डकीमा सरकार गठनका लागि आह्वान

कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन् ।

सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले ३ दिनको समय दिएको छ ।

एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदको गठबन्धन छ । गण्डकीमा सरकारको नेतृत्व कांग्रेसले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी र कांग्रेसबाट आलोपाले मुख्यमन्त्री बन्ने समझदारी भए पनि पहिला कांग्रेसबाटै हुने बताए ।

६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र स्वतन्त्र सांसदको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्