एकीकृत मिडिया विकास कोष स्थापनाको पहल गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित इकोनोमिक समिटलाई सम्बोधन गर्दै प्रचण्डले एकीकृत मिडिया विकास कोष स्थापना गर्नेबारे सरोकारवाला पक्षसँग समन्वय गरी यससम्बन्धी कानुन बनाउन पहल गरिरहेको बताएका हुन् ।

सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिने उनले बताए ।

भूकम्प, कोरोनाजस्ता विपत्ति र महामारीले समग्र अर्थतन्त्र नै समस्यामा परेको त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताए।

सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिए। यस्तै ज्येष्ठ नागरिक र अपांगता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने आश्वासन प्रधानमन्त्रीले दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपालमा नकारात्मक कुराको प्रचार हाबी भएको बताए । हरेक कुरामा नकारात्मकताको मात्र प्रचारप्रसारले राष्ट्र र जनताको मनोबललाई नै कमजोर पार्ने पनि उनको भनाई थियो।

नकारात्मकता छोडेर समाज र राष्ट्रलाई एकताबद्ध र उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित गर्न सबै लाग्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस्