बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई डिपोर्ट गरेको खुलासा

काठमाडौं । सन् २०२१ मा अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिनु अघि त्यहाँ रहेका बेलायती दुतावासका कर्मचारीको रक्षामा खटिएका नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत नेपाल फिर्ता पठाएको खुलासा भएको छ ।

करिब २० वर्ष लामो युद्ध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो र नेटो सेना फिर्ता गर्दै गर्दा तालिवानले अफगानिस्तानको नियन्त्रण आफ्नो हातमा ल्याएको थियो ।

अफगानिस्तानमा तनावपूर्ण अवस्था रहेका बेला बेलायती दुतावासमा आफ्नो ज्यानको प्रभाव नगरी सुरक्षामा खटिनेमा १०० भन्दा बढी नेपाली नागरिक पनि रहेको बेलायती अखबार द गार्डियनले जनाएको छ ।

नागरिकहरूको उद्धार भएसँगै काबुलमा रहेका प्रमुख संस्थाहरूको सुरक्षा गर्ने सय बढी नेपाली र केही भारतीय नागरिकलाई आरएएफ उडानमार्फत बेलायत लगिएको थियो ।

तीमध्येका १०० भन्दा बढी नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत बेलायतले नेपाल पठाएको कुरा अहिले बाहिरिएको हो । तर उनीहरुमध्ये धेरैजसोलाई ६ महिनाको भिसा दिइएको थियो । तर, बेलायतले केही दिनमै निष्कासित गरिदिएको द गार्डियनले उल्लेख गरेको छ ।

द गार्डियनले त्यसरी निष्कासित गरिएका र नेपालमा आफ्नो ज्यान खतरामा रहेको ठान्ने केही गार्डहरूसँग अन्र्तवार्ता लिएको जनाएको छ । उनीहरूलाई बेलायतको नर्थह्याम्प्टन, रिडिङ, अक्सफोर्ड र स्विन्डन लगायतका इलाकाको होटेलका कोठाबाट जबरजस्ती निकालिएको बताइएको छ ।

त्यतिबेला कोभिड १९ को महामारीका कारण बेलायत जानेले अनिवार्य १० दिनको होटेल क्वारेन्टिन बस्नुपर्ने थियो ।

बेलायतले त्यतिबेला नेपाललाई रातो सूचीमा राखेको थियो र आफ्ना नागरिकहरूलाई भ्रमण नगर्न निर्देशन दिएको थियो । तर, सोही बेला ती गार्डहरूलाई भने नेपाल पठाइ दिएको थियो ।

तीमध्येका केहीले बेलायतमै रहेर शरण मागिरहेका छन् । गत महिना मार्चमै पनि काबुलमा बेलायती दुतावासका कर्मचारीहरूको सुरक्षा गरेका र हाल बेलायतमा बस्दै आएका करिब १० नेपाली गार्डलाई वेस्ट लन्डन होटेलमा छापा हानेर बेलायतको गृह मन्त्रालयले हिरासतमा लिएको थियो ।

बेलायतबाट जबरजस्ती निकालिएका सयभन्दा बढीले आफूलाई सहयोग गर्ने नेपाली सम्पदाका बेलायत निवासी रुद्र ढकाललाई गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद् यूएनएचसीआरलाई ताकेता गर्दै पत्र लेखेका थिए । पत्रमार्फत उनीहरूले बेलायतमा मानवीय सुरक्षा गरिदिन माग गरेका थिए ।

निष्कासन नेपाली गार्डहरूले लेखेका थिए, “हामीलाई बेलायतको सीमा सुरक्षा बलले बहकाएको थियो । त्यसैले उनीहरूले हाम्रो इच्छाविपरीत जबरजस्ती नेपाल पठाए । हाम्रो निष्कासनको समयमा हामीलाई थप मानवीय सुरक्षाको लागि बेलायतमा बस्ने विकल्प दिइएको थिएन ।”

गार्डहरूलाई निरन्तर साथ दिँदै आएका ढकालले भनेका छन्, “यी बहादुर दिग्गजहरूले अग्रपंक्तिमा सुरक्षा उपलब्ध गराएको बताएका थिए तर अन्त्यमा ९उनीहरु नै० पछि परे । उनीहरूलाई युद्धको अग्रपंक्तिमा प्रोक्सीको रूपमा प्रयोग गरियो ।”

“हामीलाई अफगानिस्तानमा सधैं खतरा थियो । हामी बाँच्छौँ बाँच्दैनौं भन्ने नै हामीलाई थाहा थिएन । बेलायत पुगेपछि मैले सुरक्षित महसुस गरेँ तर, मलाई १७ अगस्टमै नेपाल पठाइयो ।”निष्कासन गरिएमध्येका एक ४२ वर्षीय दीपक पुनमगरले गार्डियनसँग भनेका छन् ।

रोचक कुरा के भने, यसरी निकालिएका केही गार्डहरूलाई बेलायतमा रहन अनिश्चितकालीन छुट दिइएको थियो । अनिश्चितकालीन बिदाले बेलायतमा बस्न, काम गर्ने र अध्ययन गर्नेसम्मको अधिकार दिन्छ । गत मार्चमै पक्राउ गरिएकामध्ये दुई जनासँग पनि यो अनिश्चितकालीन बिदा उपलब्ध रहेको बताइएको छ ।

हाल हिरासतमा रहेका केहीको प्रतिनिधित्व गर्ने कानुनी फर्म डंकन लुइस सलिसिटरका जेमी बेलले यो चिन्ताजनक विषय भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्