संसदीय सुनुवाई समितिमा रहने राष्ट्रिय सभाका ३ सदस्यको नाम मनोनयन

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो ।

समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए ।

बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको हो । शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री र राज्यमन्त्रीको नियुक्ति र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका थिए । यसैगरी अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सदनमा जानकारी गराए ।

बैठकको सुरुमा सांसदहरुले सङ्घीयता कार्यान्वयन, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । सासदहरुले पार्टी व्यवस्था र शासन व्यवस्थामा सुधार हुन आवश्यक रहेको, समानुपातिक समावेशीलाई प्रत्यक्ष निर्वाचित व्यवस्थामा ढाल्नु पर्ने, सुशासनको प्रत्याभूति हुने गरी भ्रष्टाचार न्युनिकरण अभियान थाल्नु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले सङ्घीयता केन्द्रमुखी हुँदा समस्या सिर्जना भइरहेकाले प्रदेश र स्थानीय तहलाई स्रोत र दायित्व दुवै दिनु पर्ने धारणा राखे । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतमा भइरहेको र उनको उपचार नेपालमा किन हुन नसकेको हो भन्ने विषयमा संसद्लाई जानकारी गराउन माग समेत गरे ।

कमेन्ट गर्नुहोस्