दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताएकी छन् ।
गृह मन्त्रालयले तुलसीपुर आयोजना गरेको विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले विपद उद्धारमा कार्यमा एक आपसको समन्वय सहकार्यबाटै सम्पादन गर्दा प्रभावकारी र उपलब्धि मुलुक रहने बताएकी हुन्।
मन्त्री शर्माले तीनै तहका सरकारका साधनस्रोत सीमितताका कारण विपदका कार्यहरुमा तत्कालै उद्धार, खोज, अनुसन्धान, उपचार र राहतका कार्यहरु प्रभावकारी हुन नसकेको बताउनुभयो । अभ्यासका कार्यहरु निश्चित पालिकामा मात्र नभई ७५३ वटै पालिकामा गर्दा थप प्रभावकारी हुने र विपद जोखिमलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले विपद् व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि विपद्का समय बाहेक नीति तथा कार्यक्रम बजेटबाटै सम्बोधन गरिने धारणा औंल्याइन ।
शर्माले भनिन् , ‘‘नेपाल भूकम्प, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपदबाट जोखिम बढी छ, त्यसका लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्छौं ।’’
उनले दाङ जिल्लाका राप्ती, बबई नदी र खोलाका कारण बाढी, डुबानबाट बढी जोखिममा भएका कारण त्यसबाट बच्नका लागि तटबन्धनको कार्य पहिलो प्राथमिकता दिइने बताइन ।
मन्त्री शर्माले फरक प्रसङ्गमा घोराही तुलसीपुर चारलेन सडककै कारण जोखिम बढेकाले तत्काल दुई लेन सडक मर्मत सम्भारका लागि संघबाट बजेटको व्यवस्थापन गरिने जानकारी दिनुइन। उनले निर्माण गरिने संरचनाका कारण विपदबाट जोखिम बढेकाले यसबाट बच्ने संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन ।
गृह मन्त्रालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा गृह मन्त्रालय, लुम्बिनी प्रदेश, जिल्लास्थित कार्यालयका प्रतिनिधि, दाङका तुलसीपुर घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको सहभागिता छ ।
कार्यक्रममा गृह मन्त्रालय विपद् व्यवस्थापन प्रमुख प्रदीप कोइरालाले राहत उद्धारका कार्यहरु एकद्वार प्रणालीबाटै सम्पन्न गर्न सके थप प्रभावकारी रहने बताइन ।