लुम्बिनीका मुख्यमन्त्री चौधरी सहित तीन मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ खुवाइएको छ । लुम्बिनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।

कमेन्ट गर्नुहोस्