नेपाली क्रिकेट टिम फाइनल प्रवेश गरेपछि प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका छन् ।

साथै,  प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

शनिबार कीर्तिपुरमा वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो ।

डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपर्यो ।

समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । नेपालले अब फाइनलमा यूएईको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्