शिथिल अर्थतन्त्रलाई उकास्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गैडाकोट–१ मा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालिका जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहन्छ । सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्री प्रचण्डले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए । ‘तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको छ । यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्छ,’ उनले भने ।

केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली केबलकार प्रालिले गैंडाकोट–१ देखि माथि मौलाकालिका मन्दिरसम्म एकतर्फी १२०० मिटर रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला (डब्बा) सहित ६ वटा स्टेसन टावर राखिएको केबलकार सेवाको प्रम प्रचण्डले उद्घाटन गरेर संचालन सुरू भएको छ।

फेदिबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेसनसम्म पुग्न सकिन्छ ।

माथिल्लो स्टेसनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्यांकेट हल, स्विमिंग पुल र रेष्टुरेन्ट रहेका छन् । परियोजनको लागत करिब दुई अर्ब रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्