सत्ता गठबन्धन बैठक, बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष दलको बैठक आगामी सुक्रबार बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

राष्ट्रपतिले वैशाख २४ गतेका लागि बजेट अधिवेशन आह्वान गरे लगत्तै बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनले बजेटका सिद्धान्त र प्राथमिकतालाई एकरुपता कसरी दिने भन्ने विषयमा छलफल भएको लेखकले बताए ।

बैठकपछि नेता लेखकले भने, राष्ट्रपतिबाट वैशाख २४ गते संघीय संसदको अधिवेशन बोलाइसकेको अवस्थामा बजेटका सिद्धान्त र प्राथमिकतामा गठबन्धन दलले कसरी एकरुपता ल्याउने भन्ने विषयमा छलफल भएको हो।’’

सरकारमा रहेका राजनीतिक दलका धारणा मिल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकताको तयारी गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए । उनले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धन दलका शीर्ष नेता सहभागी थिए । गठबन्धनको अर्को बैठक शुक्रबार फेरि बस्नेछ।

कमेन्ट गर्नुहोस्