बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न सरकार तत्पर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न सरकार तत्पर रहेको बताएका छन् ।

२५६७ औँ बुद्ध जयन्ती एंव लुम्विनी दिवस २०८० मुल समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताए । उनले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्ने प्रतिवद्ध जनाए ।

प्रधानमन्त्री प्रचण्डले भने ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्विनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता कति होला ? अन्दाज गर्न पनि गाह्रो छ । तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ ।

उनले भने नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्विनीलाई बुद्धहरूको भूमि बनाएको छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहिँ पनि छैन । त्यसैले बृहत्तर लुम्विनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिसयोक्ति हुँदैन ।

नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफु न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्दैै प्रधानमन्त्री प्रचण्डले सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ ।

कमेन्ट गर्नुहोस्