काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामग्रामको ऐतिहासिक महत्वलाई आत्मसात गरेको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती २०८० को अवसरमा पश्चिम नवलपरासीको रामग्राममा आयोजित कोलीया धातु जात्रालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने–‘तपाईहरूलाई थाहा छ, म लुम्बिनी विकास समितिको अध्यक्ष हुँदा बृहत्तर लुम्बिनी विकास गुरुयोजना बनेको थियो । त्यस गुरुयोजनामा रामग्रामलाई पनि एउटा महत्वपूर्ण अंग बनाएर विकास गर्ने कुरा गरिएको थियो ।’
बृहत्तर लुम्बिनी विकासका लागि आफुले अन्तराष्ट्रिय सहयोगको अपिल गरेको समेत उनले बताए । संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्रसंघका तात्कालिन महासचिव वानकिमुसँग रामग्राम र लुम्बिनीको बृहत्तर विकासमा अन्तराष्ट्रिय सहयोग जुटाउनेबारे कुरा गरेको स्मरण गराए ।
गुरुयोजना कार्यान्वयनबाट लुम्बिनी क्षेत्रको संरक्षण,सम्बद्धनका साथै धार्मिक पर्यटन विकास हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। विकास र धार्मिक पर्यटनका दृष्टिकोणले र संसारभरिका बौद्ध धर्मावलम्बिहरूलाई आकर्षण गर्ने खालको गुरुयोजना तयार भएको भन्दै उनले सो गुरुयोजनालाई अगाडी बढाउने प्रतिबद्धता जनाए ।
जात्रालाई सम्बोधन गर्नुभन्दा पहिले प्रधानमन्त्री प्रचण्ड बुद्ध अस्तुधातुको रथ यात्रा कार्यक्रम सहभागी भए । श्रीलङ्काबाट नेपालमा आएको बुद्धको धातुको अस्तुको अवलोकनबाट आफु उत्साहित भएको भन्दै यसले रामग्रामको विकासमा नयाँ उर्जा थपेको उनले बताए ।
गौतम बुद्ध,लुम्बिनी र रामग्रामको महत्व अन्तराष्ट्रिय रुपमा रहेको भन्दै आफुले यस क्षेत्रको बृहत्तर विकासलाई जोड दिएको बताए । उनले आफ्नो पुरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताए ।