काठमाडौं । उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव सेवा जस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन तथा यसलाई सफल पार्न सरकारको तर्फबाट र आफ्नोतर्फबाट व्यक्तिगत रूपमा पनि सधै तयार रहने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने पनि बताए । आज बिहान काठमाडौंको वनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका मन्त्री श्रेष्ठले मानवीय सेवा महान् सेवा भएको भन्दै त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रूपमा पनि लागिपर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘ अहिले म धेरै कुरा भन्न चाहन्न । जसरी तपाईँहरूको काम व्यवहारद्वारा आफूलाई नयाँ खालको मान्छेको रूपमा आफ्नो पहिचान बनाउनुभएको छ । त्यस्तैगरी म कामद्वारा नै तपाईँहरूको यो उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु । त्यसको निम्ति आज नै म सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा यसलाई कार्यसूची बनाएर म छलफल गर्नेछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूको पनि अहिले देशमा जे जति राम्रा कामहरू छन् । सबैलाई हामीले आत्मासाथ गरौँ । सबैलाई स्थान दिऊ । सबैको सम्मान गरौँ । र, त्यसमार्फत हामीले जे–जे गर्नु पर्छ । त्यो कामलाई निरन्तरता दिन जे–जे सहयोग गर्नुपर्छ । त्यो गरौँ भन्ने दृष्टिकोण र धारणा रहेको छ ।
त्यसकारणले उहाँसँग समेत सरसल्लाह गरेर सरकारको तर्फबाट यो मानव सेवा आश्रमलाई जीवित राख्न, यसलाई सञ्चालनमा ल्याई राख्न र यो सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण प्रयत्न सरकारको तर्फबाट गर्ने पनि म विश्वास दिलाउन चाहन्छु ।
सम्भवतः आज वा भोलि नै म हाम्रो रामजी अधिकारीज्यू र मानव सेवा आश्रमका साथीहरूलाई सम्माननीय प्रधानमन्त्रीसँग पनि भेट गराउनेछु । मिल्यो भने अरू प्रमुख पार्टीका नेताहरूसँग भेट गराउनेछु ।
यो मानव सेवा जस्तो महान् काम तपाईँहरूले गरिरहनु भएको छ । त्यसलाई हरहालतमा मर्न नदिन, त्यसलाई निरन्तरता दिन, अझ उचाइमा पुर्याउन सम्पूर्ण रूपले सहयोग रहने प्रतिबद्धता व्यक्ति गर्छु ।’ उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए ।