मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी, सुनकलाई दिए नेपाल भ्रमणको निम्तो

लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् ।

वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् । उनी शनिबार साँझ बकिंघम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा मन्त्री साउदले शुक्रबार बकिङघम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटे ।

मन्त्री साउदले सुनकसँगको संक्षिप्त कुराकानीका क्रममा नेपाल भ्रमणको निम्ति निमन्त्रणा गरेको दूतावास स्रोतले जनाएको छ ।

‘बेलायत-नेपाल सम्बन्धको दुई सय वर्ष बढी हुँदासमेत बेलायती प्रधानमन्त्रीको एकपटक पनि नेपाल भ्रमण हुन सकेन । हामी तपाईंलाई नेपालमा स्वागत गर्न आतुर छौं,’ परराष्ट्रमन्त्रीको भनाइ उधृत गर्दै दूतावास श्रोतले भन्यो । पहिलो एसियालीमूलका प्रधानमन्त्री सुनकले भारत भ्रमण गर्ने चर्चा चलिरहंदा नेपाल समेत आइदिन नेपालका तर्फबाट आग्रह भएको हो ।

परराष्ट्रमन्त्री साउदले त्यहाँ नेपाली दूतावासमा बेलायती संसद्‌मा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड बिलिमोरिया, पूर्वगोर्खा सैनिकलगायतसँग पनि भेटघाट गरेको दुतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्