काठमाडौं । आइतबार अपराह्नदेखि सङ्घीय संसद्को वर्षे अधिवेशन सुरु भएको छ । बजेट अधिवेशनको रुपमा बोलाइएको बजेटका विषयमा छलफल हुनुपर्ने प्रतिनिधि सभाको बैठक नक्कली भुटानी शरणार्थी प्रकरणले तातियो । टोपबहादुर रायमाझि लुकाएको भन्ने आरोप लागिरहेका बेला सदन पनि शरणार्थी प्रकरणले तातिएपछि संसदमा एमालेका सांसदहरुले अन्यत्रै विषय मोडेर सित्तल पार्ने प्रयास भने जारी राखे ।
संसदमा बोल्ने अधिकांश सांसदहरुले भुटानी शरणार्थीको नाममा नक्कली शरणार्थी बनाएर अमेरिका लग्ने कार्यमा रहेको राजनीतिक नेताहरुलाई कारबाही गर्न दबाब सिर्जना गरे । उनीहरुले भुटानी शरणार्थीका नाममा रकम कुम्ल्याउनेमाथि कारवाही गर्न माग गरे।
कांग्रेसका रामहरि खतिवडा, सुनिल शर्मा, माओवादीका माधव सापकोटा, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल लगायतका सांसदले दोषी देखिएका सबैलाई कारबाही माग गरे।
कांग्रेस सांसद शर्माले भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सांसदलाई संसदमै उपस्थित गराएर बयान लिनुपर्ने माग राखे।
नक्कली शरणार्थी बनाएर पैसा ठगेको विषयमा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाम मुछिएपछि उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन्। प्रहरीले उनको नाम फरार सूचीमा राखेको छ। एमाले अध्यक्ष केपी ओलीले रायमाझी जस्तो पार्टीको नेता उपप्रधानमन्त्री भैसकेको मान्छेलाई बाटो बाटै पक्राउ गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले रायमाझि भाग्ने मान्छे नभएको भन्दै प्रतिरक्षा गरेपनि रायमाझि प्रहरीको फरार सूचिमा रहेपछि सिंगो एमाले सदन,सडक र जनमानसमा आलोचित हुँदै गएको छ ।
संसद बैठकमा बोल्दै सांसदहरूले एमालेले गलत गर्नेहरुलाई बचाउन लबिङ गरेको भन्दै कुनैपनि हालतमा दोषी उम्कन नहुने बताएका हुन्।
तर, एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली शरणार्थी बनाएर पैसा ठगेको विषयलाई भन्दा कुरा अन्तै मोड्ने प्रयास गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देखाउँछु भनेको पुरै फिल्म देखाउन चुनौती दिए।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाही गर्न सरकार कुनै दबाबमा नपर्ने बताएका थिए। साथै, दोषी देखिएका सबैलाई कारबाही गर्ने पनि बताएका थिए।
त्यसपछि शनिबारकै अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कास्टिङ मात्र आएको र पूरा फिल्म देखाइने पनि बताएका थिए।
एमाले सचेतक गिरीलाई सिन्धुपाल्चोक १ बाट निर्वाचित माओवादी सांसद माधव सापकोटाले जवाफ फर्काए । उनले टोपबहादुर रायमाझीलाई सार्वजनिक गरेर कारवाही गराउनु एमालेका लागि हितकर हुने बताए ।
‘टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुस्, त्यसैमा तपाईंहरुको कल्याण छ,’ उनले भने, ‘विषयलाइ विषयान्तर गर्ने, खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने तपाईंहरुको शैलीले राजनीतिक चरित्र प्रस्तुत गरेन।’
‘प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहने हो भने विषयान्तर नगर्नुस्, तपाईंहरुलाई नै त्यसले नाङ्गो बनाइराखेको छ,’ उनले अघि भने।
एमालेका पोलिटव्युरो सदस्य समेत रहेका प्युठानबाट निर्वाचित सांसद सूर्य थापाले फेरि विषयान्तर गर्न खोजे। उनले कयान्टेनमेन्टमा अर्बौं भ्रष्टाचार भएको विषयमा आफूले फिल्म हेर्न चाहेको बताए।
‘म भन्न चाहन्छु, क्यान्टोनमेन्टमा अरबौं भ्रष्टाचार भएको छ त्यसको फिल्म हेर्न चाहन्छु। म कमानसिंह लामाको करोडौं ठगी प्रकरणको बारेमा फिल्म हेर्न चाहन्छु, टिकट काटेर आएको छु, फिल्म हेर्ने व्यवस्था मिलाइयोस्,’ थापाले चुनौती दिए।
उनले अपराधीको बारेमा सदनमा धेरै रुवाबासी नगर्न आग्रह गरे। ‘दोषिलाई उम्काउने कोसिस नगरियोस र निर्दोषलाई नफसाइयोस्,’ थापाले थपे।
नेमोकिपाका सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको तत्थ्य सदनमा पेश गरे ।
८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् ? भन्ने प्रश्न उनको थियो।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनले पछिल्लो भूटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन उनले माग गरे ।