काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ ।
एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरूले फारम भरेका छन् ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।
परीक्षामा १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् ।
सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।