युरोपेली च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेले

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार राति भएको खेल १-१ को बराबरीमा सकिएको हो।  रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो ।

सिटीले पहिलो हाफमा रियललाई पूर्ण दबाबमा राखेपनि अग्रता भने रियलले लिएको थियो । दोस्रो हाफमा सिटीले खेलमा फर्किएपनि रियलले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो । खेलको ३६ औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । काउन्टर अट्याकमा एडुआर्डो कामाभिंगाले बढाएको बललाई भिनिसियस जुनियरले गोलमा परिणत गरे ।

ब्राजिलियन विंगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार डाइभ दिएका गोलरक्षक एडरसनलाई बिट हुँदै गोल भएको थियो । दोस्रो हाफको ६७ औं मिनेटमा सिटीले उस्तै प्रकृतिको गोलमार्फत खेल बराबरीमा ल्यायो । कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सुन्दर गोल गरे ।

पेनाल्टी क्षेत्र बाहिरबाट डे ब्रुएनले गरेको शक्तिशाली प्रहार उनकै राष्ट्रिय टोलीका सहकर्मी थिबाउट कोर्टुवाले बचाउने अवसर पाएनन् । ९० औं मिनेटमा एडरसनले सुन्दर बचाउ गर्दै रियललाई अग्रता लिन दिएनन् ।

औरेलिएन चुआमेनीले लामो दुरीबाट गरेको प्रहारलाई एडरसनले डाइभमा पन्च गर्दै गोलबाट टाढा राखे । दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ । सेमिफाइनल चरणको दोस्रो खेलमा आज राती इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।

कमेन्ट गर्नुहोस्