पुराना सवारी साधनको समस्या र समाधानसहितको बुँदा मन्त्रालयमा बुझाउन गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुराना सवारीसाधनको समस्या समाधानका उपाय सहितको बुँदा मन्त्रालयमा बुझाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आज सवारीसाधनको स्थलगत निरिक्षणपछि मन्त्री श्रेष्ठले पुराना सवारीसाधनलाई कवाडीको रूपमा राख्न नमिल्ने बताए ।

उनले यसका लागि छिट्टै कानुनी व्यवस्था गर्ने आश्वासन दिएका छन्। उनले त्यसका लागि समस्या र समाधानका उपाय सहितको बुँदा मन्त्रालयमा बुझाउन पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

नवीकरण खारेज भएका र चोरीका सवारीसाधन कवाडीमा परिणत भइरहेका वेला गाडीलाई संकेत गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। प्रहरी महानिरीक्षक वसन्त कुँवरसहित त्यहाँ पुगेका उनलाई त्यस्ता सवारीसाधन लिलामी गर्न मिल्ने गरी कानुनी व्यवस्था गरिदिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले आग्रह गरेका थिए।

ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले लिलामी गर्न मिल्ने कानुन नहुँदा त्यस्ता सवारीसाधन वर्षौसम्म होल्ड गरेर राख्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरेका थिए। उनले त्यसका लागि विशेष कानुनको व्यवस्था गर्न माग गरे।

कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकाभित्र मात्रै नवीकरण खारेज भएका र चोरीका सवारीसाधन करिब २ हजार १ सय वटा थन्किएका छन्। कानुन अभावमा ती सवारीसाधन ट्राफिक प्रहरी कार्यालयले लिलामी गर्न नसक्ने पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्