सरकार सबैखाले फोहोर निर्मूल पार्न लागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित काठमाडौं उपत्यकाको फोहोर मैलाको दिगो व्यवस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले फोहोर मैलालाई समस्याको रुपमा भन्दापनि मलको रुपमा, उर्जा तथा मोहोरका रुपमा परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पारिने बताए ।

प्रधानमन्त्रीले भने, “हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ। उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ। यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ।”

फोहोर मैलालाई व्यवस्थापन गर्ने वैज्ञानिक विधिको प्रयोग गरेर समाधान गर्नुपर्ने बताउदै प्रधानमन्त्रीले देशभरिकै फोहोर मैलाको व्यस्थापनमा वैज्ञानिक प्रविधि अवलम्बन गर्ने गरी दिर्घकालिन समाधानको लागि मिहनेत गरिने बताए ।

“परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव छैन। आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सक्छौँ” प्रधानमन्त्रीले भने, “फोहोरलाई हामीले समस्या र झन्झटका रूपमा होइन उर्जा, मल र आम्दानीका विभिन्न स्रोत र अवसरका रूपमा बुझ्नुपर्छ। त्यसका लागि प्रविधिमैत्री सोच र योजना आवश्यक छ।”

“फोहोर व्यवस्थापनलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्ने, यसलाई समस्या होइन, आयमुलक परियोजनाको रूपमा कसरी प्रविधिकरण गर्ने भन्नेमा हाम्रो जोड छ। यससँग सम्बन्धित समितिहरूको बैठक बसेर १० दिनभित्र हामी फेरि अर्को बैठक बस्छौँ, त्यसले व्यवस्थापनको दीर्घकालीन निर्णय गर्नेछ” प्रधानमन्त्रीले भने।

लगानी बोडको बैठकमा पनि फोहोर मैला व्यवस्थानबारे छलफल हुने गरेको सुनाउँदै प्रधानमन्त्रीले आफु सबै क्षेत्रको फोहोर मैलाको दिगो समाधानका गर्न लागिपरेको बताए ।

यसअघि जैविक र अजैविक फोहोर छुट्टयाउने निर्णय भैसकेको बताउदै प्रधानमन्त्री प्रचण्डले सो निणर्यलाई कायान्वयनमा लगिने बताए ।

फोहोर व्यवस्थापन सबैको दाइत्व भएको बताउँदै उनले भने –“फोहोर मैलाको समाधानकालागि एकले अर्कालाई देखाएर होइन् उम्कने वा दोषरोपण गरेर होइन्, एकले अर्कोलाई सयोग गरेर जानुपर्ने हुन्छ । ”

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्नेबारे प्रधानमन्त्रीले आव्हान गरेको बैठकमा सरकारका प्रतिनिधि, ल्याण्डफिल साइटका प्रतिनिधि र सरोकारवालाहरूको प्रतिनिधिहरूले फोहोर व्यवस्थापनको दीर्घकालीन उपायबारे आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका विषयलाई सम्बोधन गर्दै ल्याण्डफिल्ड साइड क्षेत्रको बाटो अनिवार्य बनाउन शहरी विकास मन्त्रीलाई निर्देशन दिए। साथै उनले लिच्चडको समस्या समाधान र फोहोर र मानिससँगै बस्ने स्थिति तत्काल समाधान गर्न पनि आग्रह गरे । सम्बोधनका क्रममा ल्याण्डफिल्ड साइडका जनतासँग भएका पूर्ववत सहमति तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीले सम्बिन्धित सबैलाई निर्देशन दिएका छन् ।

फोहोर व्यवस्थापनलाई समाधान भन्दापनि विजनेस गराउँने कार्य पनि हुने गरेको प्रति प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरे । उनले उपत्यकाको फोहोरसँगै तेस्ता फोहोर पनि व्यवस्थापन गरिने बताए ।

प्रभावित क्षेत्रका नागरिकहरुलाई विभिन्न आन्दोलनमा पक्राउ पर्ने र मुद्धा लगाइएको जानकारी आफुलाई भएको भन्दै ती नागरिकहरुको तत्काल रिहाइ गर्न उनले निर्देशन दिए ।

त्यसैगरी ल्याण्डफिल साइडको लागि अधिकरण गरिएको जग्गाको सिमाकान गर्ने कुरा तत्काल अगाडि बढाइने बताए ।

साथै उनले उपत्यकाको फोहोर मैला व्यवस्थापनका विषयमा छलफल भएर यसअघि नै शहरी विकास मन्त्री संयोजक रहनेगरी १३ सदस्यीय फोहोर व्यवस्थापन समिति बनि सकेको बताए । अबको बैठक यस किसिमको बृहत गर्न सम्भव नहुने बताउँदै बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड सहजिकरण समितिको र र्यापिड एक्सन टास्कर्फोसको बैठक १० दिन भित्र बोलाएर फोहोरको दिर्घकालिन समाधानको गृहकार्य गरिने जानकारी दिए ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, सहरी विकास मन्त्री सीता गुरूङ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, बिमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु श्रेष्ठ, नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरू लगायत सरोकार पक्षका प्रतिनिधिहरू उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्