काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् ।
अर्थ मन्त्रालयमा आज राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता पनि सरकारले चाहेको जस्तो नभएको बताए । उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने बताए ।
अर्थमन्त्री डा. महतले बजारमा पछिल्लो समय भएको तरलता हटाएर कर्जा प्रवाहको लागि सहज बनाउने बताए । उनले सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने बताए ।
अर्थमन्त्री महतले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गरे । उनले अनावश्यक कानुन, नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्यारालाई हटाउने प्रयास बजेटमार्फत गर्ने उल्लेख गरे ।
उनले निजी क्षेत्र व्यापारको क्रियाशिलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्न नसक्ने बताए । उनले राजश्व बढेमात्रै बजेटको आकार बढ्ने र बजेटको आधारमा वृद्धिमात्रै राज्यको लगानी गर्ने क्षमता बढ्ने दाबी गरे ।